एमालेमा गुट बनाउने छुट कसैलाई छैन : अध्यक्ष ओली

एमालेमा गुट बनाउने छुट कसैलाई छैन : अध्यक्ष ओली



रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी गर्न नपाइने बताएका छन् ।

नेकपा एमाले कपिलवस्तुको १० औँ अधिवेशन उद्घाटन कार्यक्रममा उनले भने ‘हिजो गलत मनसायबाट पार्टी फुटाउनेहरू कहीँबाट सञ्चालित थिए, अहिले उनीहरूको के हालत भएको छ, केही स्वार्थी व्यक्ति पार्टीमा हुँदा कति धेरै क्षति पुरायो भन्ने विषय सबैलाई प्रष्ट छ, पार्टीभित्र गुट बनाउने छुट कसैलाई छैन, यसले कसैलाई फाइदा हुँदैन, पार्टीलाई फाटो ल्याउँछ, एमालेलाई गुटबन्दी स्वीकार्य छैन, योबारे सबै नेता कार्यकर्ता स्पष्ट हुनुपर्छ, अब गुटबन्दीविरुद्ध सबै नेता कार्यकर्ता लागौँ । गुटबन्दी मुर्दावाद भनौँ ।’

जिल्ला अधिवेशनहरूमा पार्टी उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलकाे समूहबीच प्रतिस्पर्धा भइरहेकाेबेला ओलीले गुटबन्दीले पार्टीलाई क्षति मात्रै गर्ने बताए ।

अध्यक्ष ओलीले नेतृत्वको लागि माथिबाट कसैलाई केही आस भरोसा नदिइएको प्रस्ट पारे । ‘माथिबाट कसैको कसैलाई समर्थन वा विरोध हुँदैन । जसले सहमतिमा टुङ्गाउँछ वा जसले बढी भोट ल्याउँछ उसैलाई समर्थन हुन्छ, तर जित्नेले कुनै घमन्ड गर्न पाउने छैन,’ ओलीले भने ।

उनले मिसन ०८४ सामान्य नभएको बताउँदै एमालेको बहुमत नभएकाले धेरै विकासका काम हुन नसकेकोले अब पूर्ण बहुमतका साथ तीनै तहमा सरकार बनाउने योजनामा साथ दिन आग्रह गरे ।