उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं : अशोक राई

उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं : अशोक राई



काठमाडौँ । जसपाका अध्यक्ष अशोक राईले अस्थिरताको शिकार मुलुक हुनु हुदैन भन्दै नयाँ दल बनाएको बताएका छन् ।

विहिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको कार्यशैली ठिक नभएको बताउदै वैकल्पिक गठबन्धन बनाउन लागेको आरोप लगाएका छन् ।

उनले आफुहरु अस्थिरताको कारक नबन्न यस्तो निर्णय लिएको बताए ।

राईले नजिक र टाढा गरेर व्यवहार गर्ने गरेको आरोप लगाउदै पारदर्शिता समेत नहुने गरेको बताए । उनले यादवमाथि महाधिवेशन नै कब्जा गरेर आफ्नो मुठ्ठीभित्र पार्टी राख्न थालेको देखिएपछि आफुहरुले यस्तो कदम चालेको बताएका छन् ।

अमेरिका जानु अघि उपेन्द्र यादवले पार्टीको विधान विपरित निर्वाचन समिति गठन गरेर परिपत्र गरेपछि पार्टीमा यस्तो अवस्था आएको उनले बताए ।

जसपा नेपालका १२ सांसद मध्ये ७ सांसद लिएर राईको नेतृत्वमा जसपा गठन भएको छ । उपेन्द्र यादवले भने जसपाको दर्ता प्रक्रिया नै असंबैधानिक रहेको बताउदै अदालत जाने बताएका छन् ।

राईले जसपा नेपालका अध्यक्ष यादवलाई अदालत जान चुनौती दिएका छन् । “अदालतको ढोका सबैको लागि खुला छ । निर्वाचन आयोगजस्तो संवैधानिक संस्थाले असंवैधानिक भए दर्ता गर्दैन थियो नि,” उनले भने, “उहाँहरू अदालत जान सक्नुहुन्छ । कानुनसम्मत दर्ता भएको पार्टीलाई अन्यथा हुने कुरा छैन ।”

अध्यक्ष राईले आफ्नो पार्टी सरकारमा नै रहेको बताए । यादवको पार्टी सरकारमा रहने/नरहने विषय प्रधानमन्त्रीमा निर्भर हुने उनले उल्लेख गरे ।

“सरकारमा नै छौँ । हाम्रो पार्टीको तर्फबाट मन्त्री सरकारमै हुन्नुहुन्छ । उहाँ (यादव) सरकारमा रहनुहुन्छ कि रहनु हुन्न, प्रधानमन्त्रीले निर्क्योल गर्नुपर्ने कुरा हो । कस्तो प्रगति हुन्छ, समयले देखाउला,” राईले भने ।