सुर्खेतमा ५ सय वटाभन्दा धेरै टुक्रे योजना अलपत्र

सुर्खेतमा ५ सय वटाभन्दा धेरै टुक्रे योजना अलपत्र



सुर्खेत । सुर्खेतमा पाँच सय ७४ वटा टुक्रे योजना अलपत्र परेका छन् । बजेट थप गरेर कार्यान्वयन गर्ने भनिए पनि बजेट थप नहुँदा योजना अलपत्र परेका हुन् ।

चालु आर्थिक वर्ष सकिन दुई महिनामात्र बाँकी रहेको अवस्थामा अलपत्र योजना के गर्ने भन्नेमा टुङ्गो नलाग्दा कार्यान्वयन नभएरै खेर जाने सम्भावना बढेको कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीले जानकारी दिए ।

उनका अनुसार २०७९ असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) सँग सरकारले प्रदेश सरकारबाट १५ लाख रुपैयाँभन्दा कम बजेट विनियोजन भएका योजना कार्यान्वयन नगर्ने राजनीतिक सहमति गरेको थियो ।

मन्त्रालयका अनुसार सिँचाइतर्फ दुई सय ११, खानेपानीतर्फ एक सय ६२ र नदी नियन्त्रणतर्फ एक सय नौ वटा वटा योजना अलपत्र छन् । ती सबै योजनालाई १५ लाख रुपैयाँ रकम पुर्‍याई कार्यान्वयनमा लैजान थप २४ करोड १० लाख रुपैयाँ बजेट आवश्यक पर्दछ ।