गृहमन्त्रीलाई प्रधानमन्त्रीले धोएर धोइन्न : गगन थापा

गृहमन्त्रीलाई प्रधानमन्त्रीले धोएर धोइन्न : गगन थापा



काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन समितिको गठनको माग गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्तको कार्यालयको दुरुपयोग गरेको बताए ।

गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको भन्दै उनले प्रधानमन्त्रीले धोइ पखाली गरेर नहुने बताए ।

उनले भने, ‘प्रधानमन्त्री जी सरकारले गरिरहेको कामकारबाहीप्रति हाम्रो विश्वास रहेन । ढाकछोप गरियो राज्यका तमाम अंगहरुलाई वासिङ मेसिनजस्तो प्रयोग गरियो तपाईँहरूले धोएर धोइन्न, पखालेर पखालिन्न। दूधको दूध पानीको पानी संसदीय समितिले छुट्टाउँछ । जबसम्म संसदीय छानबिन समिति बन्दैन तबसम्म सदन अघि जान सक्दैन ।’

उनले अब सदन अघि नबढ्नेको जिम्मेवार कांग्रेस नभई सरकार आफैँ हुने बताए । उनले भने, ‘हामीले संसदीय छानबिन समिति मात्रै बनाउनुस् अरू केही पनि चाहिँदैन । सरकार तपाईंहरुले चार वर्ष चलाउनुस् समिति बनाउनुस् तपाईँहरू नेतृत्व गर्नुस्, हामीलाई गलत साबित गरिदिनुस्, हामी सही छौँ भने हाम्रो कुरा रहन्छ, हामीलाई संख्याको आधारमा सभामुखले हेप्न खोज्ने ? पेल्न खोज्ने ?’

उनले आफू संलग्न नभए समिति बनाउन गृहमन्त्री किन डराएको भन्दै प्रश्न गरे । उनले कहिले प्रधानमन्त्री, कहिले प्रहरी र महान्यायाधिवक्ता कार्यालयलाईसमेत दुरुपयोग गरेको टिप्पणी गरे । गृहमन्त्रीले सहकारीको अर्बौँ अपचलन गरेको आफूसँग प्रमाण रहेको दाबी गरे ।

उनले भने, ‘गृहमन्त्रीमाथि कहीँ अभियोजन भएको छैन, अनुसन्धान भएको छैन भनेर झुट बोल्ने ? रुपन्देही प्रहरी कार्यालयले गरेको अनुसन्धान, त्यहाँको अदालतमा भएका प्रमाणहरू पेश गरौँ ? सहकारीमा आफैँले लिखित गरेर माग फारम भरेर ऋण लिएको प्रमाण पेश गरौँ ? एक अर्ब रुपैयाँ अपचलन गरेका प्रमाणहरू पेश गरौँ ?’