काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी बैठकले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको निष्कर्ष निकालेको छ ।
सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा सोमबार बिहान बसेको बैठक पछि प्रतिक्रिया दिदै कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संसदीय छानबिन समिति गठनको माग आफुहरुको बटमलाइन भएको प्रतिक्रिया दिएका हुन् ।
महतले भने, ‘संसदीय छानबिन समिति गठन हुनुपर्ने हाम्रो माग कायम छ । सरकारले संसदको अवरोध खुलाउने संकेत देखाएको छैन । हाम्रो माग पूरा नभएसम्म सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिँदैनौँ ।’
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको छ । त्यसका लागि दिउँसो ३ बजे बैठक बोलाइएको छ ।
राष्ट्रपति कांग्रेसको मात्र नभएर देशको राष्ट्र्पति भएको बताउदै प्रवक्ता महतले त्यो विषयले आफुहरुको माग प्रभावित नहुने स्पष्ट गरेका छन् । उनले भने, ‘यो विषयमा कांग्रेसले सम्झौता गर्दैन । यो विषय अब कांग्रेसको मात्र रहेन । यो आम जनताको विषय हो । कांग्रेसले त यो विषय उठाएको मात्र हो ।’
नेपाली कांग्रेसले संसद अवरोध गरिरहेका कारण मंगलबार सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमनै अन्योलमा परेको छ ।
कांग्रेसले सहकारी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको गठनको माग राख्दै संसदमा अवरोध गरिरहेको छ ।


प्रतिक्रिया