खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता

खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता



किएभ । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै तैनाथ सेनालाई फिर्ता गरेको छ ।

“लुक्यान्त्सी र भोभचान्स्क वरपरका केही क्षेत्रमा शत्रुको गोलाबारी र स्थल सैनिकको आक्रमणको जवाफमा र हाम्रा सैनिकहरूको ज्यान बचाउन तथा क्षतिबाट बच्नका लागि हाम्रो एकाइहरूले चालबाजी गरेका छन् थप लाभदायक स्थानहरूमा गएका छन्”, युक्रेनी सेनाले मङ्गलबार र बुधबारबीचको राति घोषणा गरेको छ ।

यसैबीच युक्रेन सङ्कटको राजनीतिक समाधानार्थ वार्ताका लागि चीनको प्रयासबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले चीनको स्थितिमा सकारात्मक धारणा व्यक्त गरेका छन् ।

बिहीबारदेखि सुरु हुने पुटिनको दुई दिने चीन भ्रमणको पूर्वसन्ध्यामा सिन्ह्वासँगको लिखित अन्तर्वार्तामा उनले चीनले युक्रेन सङ्कटको कारण र यसको विश्वव्यापी भूराजनीतिक प्रभावलाई स्पष्टरूपमा बुझ्ने बताएका हुन् । चीनले सन् २०२३ फेब्रुअरीमा जारी गरेको १२ सूत्रीय प्रस्तावले युक्रेन सङ्कटको राजनीतिक समाधानमा चीनको स्थिति प्रतिबिम्बित गर्दछ । दस्तावेजमा सङ्केत गरिएका अवधारणा र सुझावहरूले द्वन्द्व स्थिति स्थिर गर्न चीनको निष्कपट इच्छा देखाउने उनले बताए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै युक्रेन सङ्कटको शान्तिपूर्ण समाधानका लागि प्रस्ताव गरेकाे चार सिद्धान्त माथि उल्लिखित दस्तावेजमा बिल्कुल फिट भएको पुटिनले जोड दिए ।

“यी कदम ‘शीतयुद्धको मानसिकता’ त्यागी अन्तर्राष्ट्रिय कानून र संयुक्त राष्ट्रसङ्घको बडापत्रको सम्पूर्णता र अन्तरसम्बन्धका लागि अविभाज्य सुरक्षा र सम्मान सुनिश्चित गर्न आवश्यक छ भन्ने विचारमा आधारित रहेका छन्”, राष्ट्रपति पुटिनले भने, “हामीले वार्तालाई कहिल्यै अस्वीकार गरेका छैनौँ, हामी शान्तिपूर्ण तरिकाले यो द्वन्द्वको व्यापक, दिगो र न्यायपूर्ण समाधान चाहन्छौँ, हामी युक्रेनका बारेमा वार्ता गर्न तयार छौँ तर यस्तो वार्तामा हामीसहित द्वन्द्वमा सामेल सबै मुलुकको हितलाई ध्यानमा राख्नुपर्छ ।”