बागलुङ र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

बागलुङ र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै



पर्वत । छिमेकी जिल्ला बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदीमाथि निर्माणाधीन मोटरेबल पुल नौ वर्षसम्म पूरा हुन सकेको छैन ।

पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र बागलुङको जैमिनी नगरपालिका–१ जोड्नेगरी निर्माण सुरु भएको पुल नौ वर्षसम्म पनि अधुरै रहेको हो । ३० महिनामा निर्माण कार्य सक्नेगरी २०७३ असोज ९ गते सम्झौता गरिएको भए पनि अहिलेसम्म पूरा हुन नसकेको हो । सम्झौता अवधिअनुसार २०७६ असारमै पुल बनिसक्नुपर्ने थियो ।

जैमिनीघाटमा निर्माणाधीन यो पुल निर्माणको जिम्मा रसुवा-श्री गीता-फेवा संयुक्त निर्माण कम्पनीले पाएको थियो । एक सय मिटर लामो यो मोटरेबल पुल अलपत्र हुँदा दुई जिल्लाका बासिन्दा सवारीसाधनमार्फत वारपार गर्नबाट बञ्चित भएका छन् । निर्माण कम्पनीले विभिन्न बहाना बनाउँदै काममा ढिलाइ गरेको स्थानीयको आरोप छ । निर्माणाधीन यो पुलको काम पूरा हुने कुनै टुङ्गो नदेखिएको स्थानीय ठाकुर भुसालले बताए ।

एक सय मिटर लामो यो पुलको तीन खण्डमध्ये एक खण्डको ढलान हुन बाँकी रहेको छ । सडक डिभिजन कार्यालयका इञ्जिनियर तथा सूचना अधिकारी अमर अधिकारीका अनुसार आगामी असार मसान्तसम्ममा सक्नेगरी म्याद थपिएको छ । निर्माण कार्यको उपलब्धि हेर्दा अबको दुई महिनामा काम सकिने कुनै सम्भावना देखिएको छैन । अधिकारीले पुलको भौतिकतर्फ ८२ र वित्तियतर्फ ८६ प्रतिशत काम सकिएको जानकारी दिए । खोचमा बनाइएको यो पुलको दुवैतर्फ सडकको पहुँच भने राम्रो छैन । पुल बनिसकेपछि पनि सडकमा जोड्न ठूलो लगानी चाहिने स्थानीय भोलानाथ भुसालले बताए ।

निर्माण कम्पनीका प्रतिनिधि विष्णु कोइरालाले पुलको पहिलेको लागत अनुमानमा परिवर्तन गर्नुपरेका कारण लामो समय लागेको जानकारी दिए । “पुलको पिलर राख्दा ‘पायल फाउण्डेशन’ थिएन, पछि बनाएका हौँ, त्यसैले ढिला भयो”, उनले भने । पुलको बागलुङतर्फको भागमा सडकको पहुँच नभएकाले पनि समस्या परेको कोइरालाले बताए । फाउण्डेसनका लागि उपकरण लैजान सडक नहुँदा एक वर्ष ढिला भएको उनको भनाइ छ ।

वैकिल्पक राजमार्गका रुपमा विकास गरिएको नागडाँडा–कार्कीनेटा–फलेबास–जैमुनी सडकमा पर्ने यो पुल समयमै सम्पन्न गर्न सरोकारवालाले पनि चासो नदेखाएको स्थानीयको आरोप छ । थप गरिएको म्याद सकिन अब दुई महिना मात्र बाँकी छ । नदीको पानी बढ्ने अवस्था आएकाले चालु वर्ष ढलान हुनेमा विश्वस्त हुन नसकेको स्थानीय हरिबहादुर क्षेत्रीले बताए । हिउँद याममा धमाधम काम नगरेका कारण ढिलाइ भएको उनको भनाइ छ ।

यो पुल कालीगण्डकी करिडोरको पर्वत र बागलुङतर्फको भागसँग जोडिने भएकाले महत्वपूर्ण मानिएको छ । यो सडकले हालको यात्रालाई झण्डै १० किलोमिटर छोटो बनाउने फलेबासका पूर्वनगरप्रमुख पदमपाणि शर्माले बताए । आफ्नो कार्यकालमा सुरु गरेको वैकल्पिक राजमार्गमा पर्ने पुल समयमै सम्पन्न गर्न आफूले पहल गरिरहेको शर्माले बताए । सो पुलको रु १३ करोड १२ लाख ४९ हजार तीन सय ६४ को लागतमा निर्माणको सम्झौता भएको थियो ।