संसदीय समिति नबनेसम्म कसैसँग छलफल गर्दैनौं : गगन थापा

संसदीय समिति नबनेसम्म कसैसँग छलफल गर्दैनौं : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति नबनेसम्म अब कसैसँग छलफल नगर्ने घोषणा गरेका छन् । उनले संसद वैठकपछि पत्रकार सम्मेलन गर्दै आजकाे बैठकमा उत्पन्न भएको परिस्थितिको जिम्मेवारी एमाले र सभामुखले लिनुपर्ने बताए ।

थापाले भने, ‘अब छलफलमा बस्न हामीलार्ई मन छैन । भोलि ११ बजेसम्म संसदीय छानबिन समिति गठन होस् । हामी अब छलफल गरेर बस्दैनौंं ।’

थापाले सभामुखले एमालेको आज्ञापालकको भूमिका निर्वाह गरेको आरोप लगाए । उनले सभामुखले प्रमुख प्रतिपक्षी दल कांग्रेसले सदन अवरुद्ध गरेका बेला जबर्जस्ती संसदलाई कार्यसूचीमा प्रवेश गराएको बताए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार कांग्रेसको अवरोधका बाबजुद संसद चल्छ भनेको र त्यसको भोलिपल्ट संसदमा त्यही दृश्य देखिएको भन्दै थापाले सभामुख आदेश पालकको भूमिका देखिएको आरोप लगाए ।

सभामुख घिमिरेले बिहीबार सत्तापक्षका तीन पार्टीका अध्यक्षसँग परामर्श गरेर त्यसै अनुसार बैठक चलाएको पनि थापाले बताए ।

रास्वपा नेताले कांग्रेसका नेताको पनि फाइल खोल्ने भनेर दिएको चेतावनीबारे प्रश्न गर्दा थापाले यसका लागि तयार रहेको बताए ।

उनले भने, ‘हामी सरकारमा छौं भनेर बिर्सिनुभएको हो कि जस्तो लाग्छ । कुन कुन फाइल खोज्नुपर्ने हो खोल्दा हुन्छ । धमाधम खोले हुन्छ । सबै फाइल खोल्नुस् । यो फाइल खोल्छाैं, त्यो फाइल खोल्छौं भन्ने सुनिरहेका छौं । सरकारमा बस्नेले यो खोल्छौं र त्यो खोल्छौं भन्ने नै होइन । गर्ने हो । हामी तयार छौं ।’