सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्नेमा विपक्षी दलहरु एकमत

सहकारी प्रकरणबारे छानबिन समिति गठन हुनुपर्नेमा विपक्षी दलहरु एकमत



काठमाडौँ । सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा विपक्षी पाँच दल एकमत भएका छन् ।

शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए ।

यस्तै बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको थापाले जानकारी दिए ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार संसदीय छानबिन समितिको माग गर्दै आएको छ । अब कांग्रेसको मागलाई अन्य विपक्षी दलले पनि साथ दिने भएका छन् ।

बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो । तर, बैठकमा प्रतिपक्षमा रहेको जनमत पार्टी भने उपस्थित थिएन ।