कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित



काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग्न नसकेपछि संसदको बैठक प्रभावित भएको छ । 

बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी छ । 

शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । 

कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् ।  अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्र कार्की पनि मिसिएका छन् । 

अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ । 

त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ । 

कार्यदलमा अहिलेसम्म सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्ने विषय अन्योलमा रहेको छ । 

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न आग्रह 

विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई आग्रह गरेका छन् ।

सभामुखको सचिवालयका अनुसार विपक्षी दलहरु बैठकपछि राप्रपाका नेता ज्ञानेन्द्र शाहीले सभामुखलाई भेटेर सो अनुरोध गरेका थिए ।

अहिले कार्यदलको बैठक कानुन मन्त्रालय सिंहदरबारमा बसिरहेको छ ।