कार्यदलमा अझै जुटेन सहमति, बैठक केहिबेरमा फेरि बस्ने

कार्यदलमा अझै जुटेन सहमति, बैठक केहिबेरमा फेरि बस्ने



काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।

सिंहदरबारमा भएको बैठकपश्चात एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा टुंग्याउन समय लाग्ने जानकारी दिएका हुन् । कार्यदलको बैठक आजै फेरी बस्ने गरि २० मिनेटका लागि स्थगित भएको छ ।

उनले विषयगत, नीतिगत र कानुनी रुपमा कसरी लाभ हुन सक्छ भनेर टुंग्याउन बाँकी भएकाले केहि समयपश्चात फेरी बैठक बस्ने बताए ।

उनले भने, ‘मोटामोटी छलफल भएको छ। एकाध विषयमा कांग्रेसको असहमति छन् । कांग्रेसले थप छलफल गर्न समय माग गरेको छ । सैद्धान्तिक रुपमा सहमति भएपनि बुँदागत रुपमा आज बेलुकासम्म सहमति हुनसक्छ ।’

नेताहरूका अनुसार उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको छ । यसमै दलहरू सहमति नजिक पुगेका हुन् ।

कार्यदलको बैठकमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की र जीवन परियार कानुन मन्त्रालयमा भएको बैठकपछि यसबारेमा ब्रिफिङ गर्न दलको कार्यालयमा पुगेका छन् ।

कार्यदलमा भएको सहमतिको ड्राफ्ट पार्टीमा बुझाउने र निर्देशन आएपछि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको बुझिएको छ ।

दलहरूबीच कार्यादेशमा सहमति नहुँदा प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक सुरू हुन सकेको छैन । दिउँसो २ बजेका लागि प्रतिनिधि सभा बैठक सारिएको थियो ।