‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै

‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुँदै



काठमाडौँ । अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हुने भएको छ । यस वर्षको संस्करण आगामी असार ६ देखि ९ गते (जुन २० देखि २३) सम्म आयोजना हुने भएको हो ।

नेपाल र अमेरिकको कला, संस्कृति, परम्परा र ज्ञानलाई चलचित्रमार्फत जोड्न महोत्सव आयोजना गर्न लागिएको महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए । उनका अनुसार महोत्सवमा मूलतः नेपालका विशेष चलचित्र, वृत्तचित्र, लघु चलचित्र, सजीवता (एनिमेसन) लगायत विधाका चलचित्र प्रदर्शन गरिनेछन् ।

महोत्सवमा नेपालबाहेक दक्षिण एसिया, अमेरिकासहित विश्वभर बनेका चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवको सुरुआतमा नवीन सुब्बाले निर्देशन गर्नुभएको ‘गाउँ आएको बाटो’को प्रदर्शनी गरिनेछ भने समापनमा ‘द रेड सुटकेस’ देखाइने निर्देशक बराइलीले जानकारी दिए ।

“नेपालबाट प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा आफूलाई अब्बल सावित गरिसकेको चलचित्रमार्फत हामीले महोत्सव सुरुआत गर्दैछौँ । यसपटक नेपालको आमजनजीवन र प्रवास नियतिलाई यी दुई चलचित्रले प्रस्ट्याउनेछन् भन्ने हाम्रो आशा छ”, उनले भने ।