सरकार सहकारीका ठगहरूलाई जोगाउन उद्धत भयो : कांग्रेस

सरकार सहकारीका ठगहरूलाई जोगाउन उद्धत भयो : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसले सरकार सहकारीका ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता, परम्परा र लोकतान्त्रिक मर्मलाई कमजोर पार्न उद्धत भएको निष्कर्ष निकालेको छ ।

आज बसेको संसदीय दलको बैठकले सरकार पीडितलाई नभइ सहकारी ठगलाई जोगाउन उद्धत भएको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले बताए ।

उनले सदनमा कांग्रेसले बोल्न माग गर्दा पनि सत्तापक्षको दम्भको कारणले बोल्न नदिएको आरोप लगाए ।

विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेसले संसद्‌मा सभामुखको भूमिका पदीय गरिमाअनुकूल नभएको ठहर गरेको छ ।

‘कुनै एउटा पार्टी विशेषको कार्यकर्ताका रूपमा प्रस्तुत हुने कुरा सभामुखका लागि शोभनीय हुन्न’ कांग्रेसका प्रमुख सचेतक लेखकले भने ।

बैठकले सभामुखलाई संसदीय परम्परा जोगाउन, सभामुखको मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्नसमेत आग्रह गर्ने निर्णय गरेको छ ।

कांग्रेसले सरकारलाई लोकतन्त्र र संसदीय मूल्य र मान्यताका विपरीत नजान पनि चेतावनी दिएको छ ।

सहकारीको बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको छ ।

त्यसैगरी आजै बसेकाे कांग्रेसलगायत विपक्षी दलहरूकाे बैठकले सदन र सडकबाट संयुक्त रूपमा संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ ।