उपेन्द्र यादवको रिट ‘हेर्न नभ्याइने’मा

उपेन्द्र यादवको रिट ‘हेर्न नभ्याइने’मा



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको पार्टी फुटविरुद्धको रिट ‘हेर्न नभ्याइने’मा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको मुद्दा अन्तिममा पेशी रहेको थियो । ढुंगानाको एकल इजलासले ८ वटा मुद्दामा सुनुवाइ गर्दै आदेश गरेको थियो भने यादवको मुद्दा १२ औ नम्बरमा पेशी रहेको थियो ।

यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिन लागेको र त्यसमा पार्टी विभाजनमा संलग्न रहेको अशोक राईसहित ७ जनालाई सहभागी गराउन रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

प्रधानमन्त्रीलाई सोमबार राई पक्षका ७ जनाले पनि मत दिएका छन् ।

यादवले उनीहरूलाई रोक्न सभामुखलाई पत्र पठाए पनि सभामुखले त्यसलाई बेवास्ता गर्दै विश्वासको मत दिने प्रक्रियामा सहभागी गराए ।

यादवले रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित निर्वाचन आयोग र पार्टी छोडेको सात सांसदलाई विपक्षी बनाएका छन् ।