काठमाडौं । नेपाली कांग्रेसका सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदको अवहेलना उजुरी संसद सचिवालयमा दर्ता गराएका छन् । सोमबार दर्ता भएको उक्त उजुरीको दर्ता नं. ४२ रहेको छ । सांसद गुरुङले सत्य तथ्य नबोल्ने गृहमन्त्रीमाथि संसदको अवहेलनामा कारबाही गरीपाउँ भने उजुरी दिएका छन् ।
उजुरी जस्ताको त्यस्तै
हिजो मिति २०८१ साल जेष्ठ ६ गतेको बैठकमा माननीय गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्टमबाट तथ्यहिन, आधारहिन का गरि नेपाली कांग्रेसका प्रतिनिधि सभाका सदस्यहरु माथी मानमर्दन गर्न खोजेको, हुदै नभएको कुरालाई बढाई चढाई गरेर आम नागरिकलाई भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथी धावा बोलेको, अदालतको निर्णयको वर्खिलाप गरि अदालतको समेत अवहेलना गरेको, अदालतवाट सफाई पाईसकेका रातो कुटनितिक पासपोर्टको विषयलाई तोडमोड गरि प्रस्तुत गरि आम नागरिक विच भ्रम श्रृजना गर्न खोजेको, आफुलाई अदालत भन्दा माथी राखी अभिव्यक्ति दिएको व्यहोरा स्मरण गराउन चाहन्छु ।
उहाँले बोलेका कुराहरुको अडियो तथा भिडियो प्रतिनिधि सभा सचिवालयमा सुरक्षित रहेको पनि होला । देशको गृहमन्त्रीले अनैतिकरुपमा तथ्यहिन कुरा गर्दा संसदको अवहेलना हुन पुगेको छ । उहाँले बोलेको कुराहरु पुष्टि गर्न म उहाँलाई चुनौति दिन चाहन्छु । यदि पुष्टि नभएमा उहाँमाथी कारवाही गर्न माग गर्दछु ।
प्रतिनिधि सभा नियमावलीको नियम २१९ मा सभाका सदस्यले पालना गर्नुपर्ने आचरण पनि निज गृहमन्त्रीले पालना नगरेकोले सो तर्फ समेत विचार गरि निजलाई संसदको अवहेलनामा कारवाहि गर्न गम्भिर रुपले माग गर्दछु । साथै कुटनितिक राहदानी दुरुपयोग गरेको भन्ने आरोपको सम्वन्धमा सम्मानीत सर्वोच्च अदालतले २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी यसै निवेदनसाथ संलग्न गरेको छु ।
धनराज गुरुङ
प्रतिनिधि सभा सदस्य
क्रम संख्या :
मिति : २०८१ जेष्ठ ७ गते ।


प्रतिक्रिया