नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता

नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता



काठमाडौं । प्रतिपक्षी दलको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ ।

राजनीतिक दलसम्बन्धी संशोधन विधेयक (दोस्रो संशोधन) २०८० फिर्ता लिने प्रस्ताव स्वीकृत भएको हाे । जेठ ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रवि लामिछानेले विधेयक फिर्ता लिएको सम्बन्धी प्रस्ताव सदनमा पेस गरेका थिए । विधेयकमाथि विरोधको सूचना दिन सभामुख देवराज घिमिरेले समय दिएका थिए ।

नाराबाजीका बिच कांग्रेस सांसद रामहरि खतिवडाले सो विधेयकमा आफ्नो विरोध रहेको बताएका थिए । सभामुखले रोष्टममा आएर ३ मिनेट बोल्न समय दिए पनि उनी रोष्टममा भने गएनन् ।

त्यसपछि सभामुख घिमिरेले हुन्छ भन्ने सांसदको संख्या बहुमत रहेको बताउँदै सो प्रस्ताव स्वीकृत भएको जानकारी दिए ।

मंगलबारकै बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरणसम्बन्धी अध्यादेश पनि प्रतिनिधिसभा बैठकमा पेश गरेका छन् ।