गृहमन्त्रीमा नवअधिनायकवाद देखियो, अन्तिमसम्म लड्छु : कैलाश सिरोहिया

गृहमन्त्रीमा नवअधिनायकवाद देखियो, अन्तिमसम्म लड्छु : कैलाश सिरोहिया



काठमाडौं । कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । मंगलबार उनलाई एसएसपी सानुराम भट्टराईको नेतृत्वकाे प्रहरी टोलीले थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरेको हो ।

कार्यकक्षबाटै पक्राउ परेपछि अध्यक्ष सिरोहियाले गृहमन्त्री रवि लामिछानेमा नवअधिनायकवाद देखिएको टिप्पणी गरेका छन् । उनले गृहमन्त्री लामिछानेको दुईवटा पासपोर्ट रहेको बताए । “गृहमन्त्रीसँग त दुईवटा पासपोर्ट छ । नवअधिनायकवाद देखिएको छ । कार्यकक्षबाट गिरफ्तार गरिएको छ । यो प्रेस स्वतन्त्रतामाथिको कुठाराघात हो, अन्तिमसम्म लड्छु,” उनले भने ।

गृहमन्त्री लामिछानेले गरेको सहकारीको बचत अपचलन गरेको समाचार कान्तिपुरले श्रृंखलाबद्ध रूपमा प्रकाशन प्रसारण गरिरहे बदला लिइएको पनि बताए ।

‘उजुरीकै आधारमा पक्राउ गरिन्छ भने मेरो उजुरीलाई आधार मानेर गृहमन्त्रीमाथि वारेन्ट जारी हुने विश्वासमा छु । उहाँको नाममा भोलि वारेन्ट जारी हुने अपेक्षा छ’, सिरोहियाले भने ।

सिरोहियामाथि धनुषा जिल्ला प्रहरीमा परेको उजुरीबारे कुनै सोधपुछ नै नगरी पक्राउ गरेको हो ।

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप कत्ति पनि विचलित नहुने उनको भनाइ छ ।