सहकारी ठगीविरुद्ध कांग्रेसले शुक्रबार भ्रातृ संगठनलाई सडकमा उतार्ने

सहकारी ठगीविरुद्ध कांग्रेसले शुक्रबार भ्रातृ संगठनलाई सडकमा उतार्ने



काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको दबाब दिँदै सडकमा उत्रिने निर्णय गरेको छ ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेकाे केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पहिलो चरणमा शुक्रबार काठमाडौंकाे भृकुटीमण्डपमा बृहत् विरोध प्रदर्शन गर्ने भएकाे छ । जसअनुसार नेविसंघ, तरुण दल, महिला संघलगायतका भ्रातृ तथा भगिनी संगठनलाई प्रदर्शनमा उतार्ने निर्णय भएको छ ।

यस्तै गृहमन्त्री समेत रहेका रास्वपाका सभापति रवि लामिछाने सहकारी ठगीमा जोडिएका सहकारी रहेका क्षेत्रहरु चितवन, पोखरा र रुपन्देहीमा पनि सोही दिन आन्दोलन गरिने छ ।

त्यसपछि पनि चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम गर्नेगरी कांग्रेसले मिति प्रस्ताव गरेको छ । बैठकपछि कांग्रेसले औपचारिक रूपमा संघर्षका कार्यक्रम घोषणा गर्ने बताइएकाे छ

कांग्रेसले सहकारी ठगीमा रवि लामिछाने मुछिएको भन्दै उनीमाथि छानबिनको माग गर्दै आएको छ ।