कांग्रेस कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनीत

कांग्रेस कार्यसम्पादन समिति सदस्यमा रमेश लेखक मनोनीत



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिमा रमेश लेखक मनोनीत भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लेखकलाई केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनीत गरेका हुन् । लेखक नेपाली कांग्रेसको प्रमुख सचेतकसमेत हुन् ।

देउवाले पार्टीको विधान २०१७ को धारा २३ को उपधारा २ अनुसार लेखकलाई कार्यसम्पादन समिति सदस्य पदमा मनोनीत गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सभापति देउवाले लेखकलाई कार्यसम्पादन समिति सदस्य मनोनीत गरेकोमा बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदनसमेत गरेको छ ।

विधानअनुसार सभापतिले केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट समावेशी सिद्धान्त समेतलाई ध्यानमा राखेर कार्यसम्पादन समितिमा ३१ जना मनोनीत गर्न पाउने व्यवस्था छ ।