चीन, दक्षिण कोरिया र जापानले पाँच बर्षपछि त्रिपक्षीय शिखर सम्मेलन गर्दै

चीन, दक्षिण कोरिया र जापानले पाँच बर्षपछि त्रिपक्षीय शिखर सम्मेलन गर्दै



सियोल । दक्षिण कोरियाी, चीन र जापानी नेताहरूले अर्को हप्ता सियोलमा करिब पाँच वर्षपछि पहिलो त्रिपक्षीय शिखर सम्मेलन गर्ने दक्षिण कोरियालीे राष्ट्रपतिको कार्यालयले बिहीबार जनाएको छ ।

राष्ट्रपति युन सुक युलले सोमबार दक्षिण कोरियाको राजधानीमा चिनियाँ प्रधानमन्त्री ली किआङ र जापानी प्रधानमन्त्री फुमियो किशिदालाई भेट्ने सियोलका उपराष्ट्रिय सुरक्षा निर्देशक किम ताइ–ह्याले पत्रकारसँग बताए । युनले आइतबार ली र किशिदासँग छुट्टै द्विपक्षीय वार्ता गर्ने किमले बताएका छन् । तीन नेताहरूले व्यापारिक शिखर सम्मेलनमा भाग लिने र तीन देशका व्यापारीहरूलाई ‘प्रोत्साहित गर्ने’ कार्यक्रम पनि रहेको उनले बताए ।

“आगामी शिखर सम्मेलनले त्रिपक्षीय सहयोग प्रणालीलाई पूर्ण रूपमा पुनः स्थापना र सामान्यीकरणका लागि निर्णायक बिन्दुको रूपमा काम गर्नेछ,” किमले भने । तीन देशका नेताहरूले अन्तिम पटक २०१९ मा भेट गरेका थिए ।

कोरियाली प्रायद्वीपमा जापानको १९१०–१९४५ सम्मको शासनलाई लिएर जापान र दक्षिण कोरियाबीच कानुनी विवाद जारी छ ।

तर आणविक हतियारधारी प्योङयाङले निम्त्याएको बढ्दो खतराका कारण दक्षिण कोरियाका युनले लामो समयदेखि सहयोगी रहेको वासिङ्टनसँगको सम्बन्धलाई बलियो बनाउँदै जापानसँगको ऐतिहासिक वैमन्स्यता अन्त्य गर्न अघि सरेका छन् ।

गत वर्ष अगस्टमा संयुक्त राज्य अमेरिकाको क्याम्प डेभिडमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि सियोल, टोकियो र वासिङ्टनले घनिष्ठ त्रि–पक्षीय सुरक्षा सहयोगको ‘नयाँ अध्याय’ घोषणा गरेका थिए । त्यस समय शिखर सम्मेलनमा तीन सहयोगीहरूले दक्षिण चीन सागरमा चीनको ‘आक्रामक व्यवहार’ बारे गरेको आलोचनालाई लिएर बेइजिङले उजुरी दर्ता गरेको थियो ।

नयाँ त्रिपक्षीय शिखर सम्मेलनको बिहीबारको घोषणा बेइजिङले दक्षिण कोरियाली र जापानी कूटनीतिज्ञहरूलाई ‘ताइवानका बारेमा मुद्दाहरू’ छलफल गर्न बोलाएको एकदिन पछि आएको हो । सियोलको योन्हाप समाचार एजेन्सीका अनुसार सोमबार ताइवानका राष्ट्रपति लाइ चिङ–टे को उद्घाटनमा दक्षिण कोरियाली सांसद र सियोलका प्रतिनिधिको ताइपेईमा उपस्थितिको चीनले निन्दा गरेको छ ।

सियोलको विदेश मन्त्रालयले बिहीबार दक्षिण कोरियाको ‘एक चीन नीतिलाई सम्मान गर्ने’ स्थितिमा ‘कुनै परिवर्तन नभएको’ बताएको छ । “हाम्रो सरकारले ताइवानको मुद्दामा चीनसँग पनि कुराकानी गरिरहेको छ, चीन हाम्रो सरकारको स्थितिसँग अवगत छ हामीलाई लाग्छ,” विदेश मन्त्रालयका प्रवक्ता लिम सू–सुकले पत्रकारसम्मेलनमा बताए ।

चीन दक्षिण कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो, तर यो उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण आर्थिक लाभार्थी र कूटनीतिक सहयोगी बनेको छ । आगामी शिखर सम्मेलनले मार्च २०२३ मा चीनको प्रधानमन्त्रीको पदभार सम्हालेपछि लीको पहिलो दक्षिण कोरिया भ्रमणलाई चिह्नित गर्नेछ ।