विना निष्कर्ष सकियाे कार्यदलको बैठक, शुक्रबार फेरि बस्ने

विना निष्कर्ष सकियाे कार्यदलको बैठक, शुक्रबार फेरि बस्ने



काठमाडौँ । सहकारीको रकम हिनामिना सम्बन्धी गठन गर्ने भनिएको संसदीय छानबिन समितिका लागि कार्यादेश टुंगो लगाउन गठित कार्यदलको आज बसेकाे बैठक विना निष्कर्ष सकिएकाे छ । बिहीबार सिंहदरबारस्थित कानुन मन्त्रालयमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि निष्कर्षविहीन भएको हो ।

बैठक शुक्रबार बिहान ८ः३० बजे फेरि बस्ने कार्यदल सदस्य महेश बर्तौलाले जानकारी दिए । शुक्रबार बिहान बस्ने बैठकमा सहमति गरेर ११ बजे संसद् बैठक खुलाउने प्रयास हुने उनले बताए ।

कांग्रेसले उठाएका सहकारीको नाम उल्लेख गर्न समस्या नभएको तर व्यक्ति नाम उल्लेख नगर्ने प्रस्ताव सत्ता पक्षले राखेको उनले बताए । आजको बैठकमा केहि ठोस विषयमा छलफल भएको र भोलि बिहान बस्ने बैठकमा सहमति हुने बर्तौलाले दाबि गरे ।

त्यस्तै रास्वपाका कार्यदल सदस्य शिशिर खनालले आजको बैठकमा कांग्रेस लचक भएको आफुले बुझेको बताउदै थप छलफल गरेर बैठक बस्ने कुरा भएको बताए ।

त्यस्तै कार्यदलका सदस्य जीवन परियारले बैठकमा कार्यादेश रवि लामिछानेको नाम उल्लेख गर्ने विषयमा आफुहरुको अडान कायम रहेको बताए । आफुहरुले गोलमटोलको भाषाको प्रयोग मान्य नहुने स्पष्ट रुपमा राखेको बताउदै परियारले सम्बन्धित व्यक्तिको नाम उल्लेख नगरी कांग्रेस सहमतिमा नआउने स्पष्ट गरे । आज सत्ता पक्षले राखेको प्रस्तावमा कांग्रेस सहमत हुने अवस्था नबनेको बताए ।     

कानूनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा एमालेका  प्रमुख सचेतक महेश बर्तौला, काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

कांग्रेसले कार्यादेशमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर छानबिन गर्नुपर्ने अडान कायम राखेको छ भने एमाले र रास्वपा व्यक्ति केन्द्रित छानबिन हुन नसक्ने अडानमा रहेका छन् । यस अघि आइतबार भएको कार्यदलको बैठकमा सहमतिमा नपुगे पनि अर्को बैठकमा सत्ता पक्षले परिमार्जित प्रस्ताव पेश गर्ने सहमति भएको थियो ।