सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ

सिरोहिया पक्राउ र गृहमन्त्रीको अभिव्यक्तिबारे प्रधानमन्त्रीसँग कांग्रेसले माग्यो जवाफ



काठमाडौं । टीओआरमा सहमति खोज्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएकाे छ ।

शुक्रबार बसेकाे बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सदनमा दिएको अभिव्यक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जवाफ मागेको छ ।

छलफलमा दुवै बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए । उनले भने, ‘आजको बैठकमा प्रधानमन्त्रीलाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जुन ढंगले पक्राउ गरियो त्यो विषयमा गम्भीर छौं भनेर कुरा उठाएका छौं । उपप्रधान तथा गृहमन्त्रीले प्रतिनिधि सभाको रोष्ट्रममा उभिएर जुन कुरा गर्नुभएको छ । कांग्रेसलाई लाञ्छना लगाउने काम गरेको बिषयमा ध्यानाकर्षण गराएका छौं । यसको जवाफ पनि चाहन्छौं भनेर ध्यानाकर्षण गराएका छौं । दुवै बिषयमा प्रधानमन्त्रीले जवाफ दिनुहोला ।’

टीओआरमा सहमति नजुटे पनि बैठक सकारात्मक भएकाे नेता लेखकले बताए । उनले भने,‘सहकारीबाट ठगी भएको विषयमा छानबिन कस्तो बनाउने भन्ने विषयमा साथीहरूले काम गरिरहनुभएको छ । त्यसका विषयमा छलफल भयो । छलफल आज सकरामतक भएको छ । समिति बनाउने तर्फ सबैको जोडबल छ र सकारात्मक नै छ ।’

नेता लेखकले सहकारी प्रकरणमा व्यक्तिको नाम लेख्ने भन्दा पनि बचतकर्ताको रकम फिर्ता हुनुपर्ने आफुहरुको प्रमुख अडान रहेकाले बचतकर्ताको रकम फिर्ता कसरी हुन्छ भन्नेमा छानबिन केन्द्रित हुनुपर्ने बताए ।

बैठकबाट कांग्रेस बाहिरिएपछि सत्ता पक्षको बैठक बसिरहेको छ ।