काठमाडौं । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।
प्रतिपक्षी सांसदहरूको अवरोधकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि छलफल आरम्भ गर्न प्रस्ताव गरेका थिए । यही जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गरेका थिए ।
प्रधानमन्त्रीले प्रस्ताव राखेपछि सभामुखले दुई वटा संशोधनका सूचना प्राप्त भएको जानकारी गराए । त्यसपछि जनमोर्चाका चित्रबहादुर केसीलाई आफ्नो संशोधन प्रस्ताव राख्न उनले पाँच मिनेट समय दिए ।
अगाडि जान सम्भव नभएपछि केसीले आफ्नै आसनबाट उठेर भनाइ राखे । तर, उनले आफ्नो संशोधन नराखीकन सहकारी ठगीको विषयमा बोले । नीति कार्यक्रमलाई समर्थन नगर्ने भन्दै उनले भनाइ टुङ्ग्याए ।
अर्का संशोधनकर्ता नेमकिपाका प्रेम सुवालले भने नाराबाजीकै बीच आफ्नो संशोधन प्रस्ताव राखेका थिए ।
त्यसपछि नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा छलफल भइरहेकाे छ भने प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरु वेल घेरेर नाराबाजी गरिरहेका छन् ।


प्रतिक्रिया