काठमाडौँको प्रदर्शनी मार्गमा कांग्रेसकाे विरोध प्रदर्शन

काठमाडौँको प्रदर्शनी मार्गमा कांग्रेसकाे विरोध प्रदर्शन



काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको छ ।

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछाने नै संलग्न रहेको दाबी गर्दै संसदीय समिति गठनको माग राखेर सदन अवरोध गरिरहेको कांग्रेस आइतबारदेखि सडकमा उत्रिएको छ ।

गत फागुनमा गठबन्धन फेरिएर सहकारी ठगीमा मुछिएका रास्वपाका सभापति रवि लामिछाने गृहमन्त्री बनेपछि संसदीय छानबिन समितिको माग गर्दै सदन अवरोध गरिरहेको छ ।

संसदमा कांग्रेसको नाराबाजीका बिच सरकार पक्ष पेलेर जान खोजेपछि कांग्रेस सडकमा उत्रिएको हाे । कांग्रेस सांसदहरू रमेश लेखक, रामहरि खतिवडा, विश्वप्रकाश शर्मा, एनपी साउद, राजेन्द्र बजगाईँ, सीता गुरुङ, उदयशमशेर राणालगायत विरोध प्रदर्शनमा पुगेका छन् ।

प्रदर्शनकारीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण, नागरिकता, पासपोर्ट लगायतमा छानबिन गर्नुपर्ने मागसहितको प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनमा कांग्रेसले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समिति गठन, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्तिबारे नारा अगाडि सारको छ ।