देउवाले प्रधानमन्त्री प्रचण्डलाई भने- लेखेकै आधारमा मिडियालाई कन्ट्रोल गर्नु गलत हो

देउवाले प्रधानमन्त्री प्रचण्डलाई भने- लेखेकै आधारमा मिडियालाई कन्ट्रोल गर्नु गलत हो



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले लेखेकै आधारमा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न खोजिनु गलत हुने बताएका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले आइतबार प्रेस युनियनको स्थापना दिवसका अवसरमा भएको कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्रीलाई भनेका उक्त कुरा बताएका हुन् । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकताबारे पक्राउ परेका प्रसंगमा सभापति देउवाले प्रधानमन्त्रीसँग उक्त कुरा गरेका थिए ।

देउवाले प्रधानमन्त्री प्रचण्डलाई भनेका उद्धृत गर्दै उनलेले बताए, ‘हाम्रो पार्टी सभापति शेरबहादुर देउवाले अस्तीको दिन प्रधानमन्त्रीलाई भनेको म सम्झन्छु, स्थापना भएदेखि आजसम्मको कान्तिपुर तपाईं पल्टाएर हेर्नस्, कान्तिपुरले आजसम्म सबैभन्दा बढी गाली गरिएको, सबैभन्दा बढी आलोचना गरिएको र सबैभन्दा बढी लखटिएकोमा एक नम्बरमा मेरो नाम आएन भने भन्नुहोला । म लखेटिएको र गाली खाएको छु । तर म र मेरो पार्टीको कुरा छ, त्यो ठिक वा गलत के थियो आफ्नो ठाउँमा जबाफ दिउँला । तर यसको आधारमा, मेरा बारेमा के लेखियो भन्ने आधारमा मिडियालाई कन्ट्रोल गर्न थालियो भने कहाँ पुग्छ, यो गलत हो ।’

महामन्त्री थापाले सरकारले निरंकुशताउन्मुख रबैया देखाउन खोजेको पनि बताए । उनले अहिलेको रवैयाले प्राप्त गरेको उपलब्धि गुमाउने खतरा कायम रहेको बताए । उनले प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र रहेको भन्दै प्रेसलाई अंकुश लगाउने काम गर्न नहुने बताए ।

थापाले प्रतिपक्षलाई संसदमा नियन्त्रण र बाहिर प्रश्नलाई नियन्त्रण गर्ने राम्रो नरहेको बताए । महामन्त्री थापाले नेपाली काँग्रेसले अहिले लिएको अडान आम सर्वसाधारण नागरिकसँग जोडिएको पनि बताए ।