कार्यदलसहित शीर्ष नेताको बैठक जारी

कार्यदलसहित शीर्ष नेताको बैठक जारी



काठमाडौँ । सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सुरु भएको हो ।

छलफलमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, कार्यदल संयोजकसमेत रहेका कानुन मन्त्री पदम गिरी र एमालेका प्रमुख सचेतक महेश बर्तौला सहभागी छन् ।

यसैगरी नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहभागी छन् ।

यसैगरी नेकपा माओवादीबाट वर्षमान पुन र हितराज पाण्डे सहभागी छन् ।

रास्वपाबाट उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने, स्वर्णिम वाग्ले लगायतका नेताहरु सहभागी छन् ।

शीर्षसहित कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेको नामै तोकेर संसदीय छानबिन समितिको कार्यादेश बनाउनुपर्ने अडान राख्दै आएको छ । त्यसमा सत्ता साझेदार दल नेकपा एमाले र रास्वपाको असहमति छ ।