पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यूगिनीद्वारा राष्ट्रसंघलाई जानकारी

पहिरोमा परी दुई हजारभन्दा बढी मानिस पुरिएको पपुवा न्यूगिनीद्वारा राष्ट्रसंघलाई जानकारी



पोर्ट मोरेस्बी । पपुवा न्युगिनीले संयुक्त राष्ट्रसंघलाई एंगा प्रान्तको दुर्गम पहाडी इलाकास्थित एउटा गाउँमा शुक्रबार गएको भीषण पहिरोमा पुरिएका व्यक्तिको संख्या दुई हजारभन्दा बढी रहेको जानकारी गराएको छ ।

देशको राष्ट्रिय विपद् केन्द्रले राजधानी पोर्ट मोरेस्बीस्थित संयुक्त राष्ट्रसंघको कार्यालयलाई सोमबार गराएको जानकारीअनुसार, शुक्रबार बिहान करिब ३ बजे गाउँले सुतिरहेको अवस्थामा पहिरो गएको र दुई हजारभन्दा बढी व्यक्ति जीवितै पुरिएका हुन् । मुंगालो पर्वतको एउटा ठूलो भाग भत्कँदा सयौँ घरहरू पुरिएपछि ठूलो संख्यामा स्थानीयको मृत्यु भएको छ ।

पहिरोले भवन, खाद्यान्न बगैँचामा व्यापक क्षति पुर्‍याएको र यसले मुलुकको अर्थतन्त्रमा नै ठूलो असर पारेको विपद् कार्यालयले जनाएको छ ।

पहिरोका कारण पोर्गेरा खानी जाने मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको राष्ट्रसंघका अधिकारीलाई सोमबार बिहान प्राप्त पत्रमा उल्लेख छ । “भूस्खलन क्रमिक रूपमा सर्ने क्रम जारी रहेकाले स्थिति अस्थिर रहेको र यसले उद्धार टोली र बाँचेका दुवैका निम्ति निरन्तर खतरा उत्पन्न गरेको छ,” पत्रमा उल्लेख छ ।

पत्रमार्फत पपुवा न्युगिनीका विकास साझेदार र अरू अन्तर्राष्ट्रिय ‘मित्र’लाई पछिल्लो अवस्थाबारे जानकारी दिन राष्ट्रसंघलाई आग्रह गरिएको छ । विपद् केन्द्रमार्फत सहयोगको समन्वय गरिदिन समेत आग्रह गरिएको छ ।