बंगलादेशमा आँधीका कारण मृत्यु हुनेको संख्या १० पुग्यो

बंगलादेशमा आँधीका कारण मृत्यु हुनेको संख्या १० पुग्यो

करिब ३० हजार घर पूर्णरूपमा क्षतिग्रस्त



ढाका । बंगलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १० पुगेको छ भने ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्ण रूपमा क्षतिग्रस्त बनेका अधिकारीले बताएका छन् । आँधीले दशौँ हजार घरमा आंशिक क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले सोमबार बताएका छन् ।

बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, “अधिकांशको मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको थियो । तीनजनाको छिमेकी जिल्लामा डुबेर मृत्यु भएको छ ।”

आइतबार राति ‘रेमाल’ नाम दिइएको चक्रवातले तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छालहरू ल्याएको थियो ।सोमबार दिउँसोसम्म यो कमजोर भए पनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर पारेको छ । “चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च छ,” अलीले भने ।

सरकारी प्रशासक हेलाल महमुदका अनुसार खुलान जिल्लामा दुईजनाको मृत्यु भएको छ । उनले भने, “चक्रवातले एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएको छ र तीमध्ये करिब ३१ हजार घरमा पूर्णरुपमा क्षति पुगेको छ ।”

चित्तागोङ्ग (चटगाँव) का प्रशासक तोफाएल इस्लामले भने, “चटगाँवमा एक व्यक्तिको मृत्यु भएको छ, जहाँ ४० हजारभन्दा बढी मानिस अझै पनि भारी वर्षा र तीव्र हावाका कारण सुरक्षित आश्रयस्थलमा छन् ।”

बंगलादेशको सबैभन्दा ठूलो सरकारी विद्युत् वितरण कम्पनी बंगलादेश ग्रामीण विद्युतीकरण बोर्डका प्रमुख इञ्जिनियर विश्वनाथ सिकदर आँधीका कारण चटगाँव क्षेत्र पूर्णरूपमा विद्युतविहीन बनेको छ । उनले भने, “आँधीले एक करोड २५ लाखभन्दा बढी मानिसले उपभोग गर्दै आएको विद्युत् आपूर्ति बन्द भएको छ । चक्रवातको अवस्थामा सुधार आएपछि हामी विद्युत आपूर्ति सुचारु गर्नेछौँ ।”