सहकारी प्रकरणमा आफ्नाे अडानबाट पछि नहट्ने कांग्रेसकाे निर्णय

सहकारी प्रकरणमा आफ्नाे अडानबाट पछि नहट्ने कांग्रेसकाे निर्णय

बूढानीलकण्ठकाे बैठक सकेर नेताहरु बालुवाटारमा



काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनमा आफ्नो अडान कायम राख्ने भएको छ ।

सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सहकारी प्रकरणमा आफूहरूले राखेको मागबाट पछि हट्न नसक्ने निर्णय निकालेको हाे ।

बैठकपछि नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, नेताहरू रमेश लेखक र ज्ञानेन्द्र कार्की बालुवाटार पुगेका हुन् ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानबिन गर्नको लागि बनाउने भनिएको संसदीय समितिको टिओआरमा अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

आज पनि सहमति नजुटे कांग्रेसले भाेली हुने बजेट भाषणमा पनि संसद्मा अवरोध जारी राख्ने भएको छ ।

बजेट पेस गर्नका लागि मंगलबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।