एमालेलाई कांग्रेसको जवाफ- प्रतिवाद गर्ने छुट कांग्रेसलाई पनि छ, यो उत्तर कोरिया होइन

एमालेलाई कांग्रेसको जवाफ- प्रतिवाद गर्ने छुट कांग्रेसलाई पनि छ, यो उत्तर कोरिया होइन



काठमाडौँ । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्माले पहिला कांग्रेसलाई आरोप लगाएको टिप्पणी गरेको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अध्यक्ष ओलीले नै पहिला कांग्रेसले गिरीबन्धुको ५१ बिघा बेचेको भनेर आक्रमण शुरु गरेको बताउदै आफुहरुले त्यसको प्रतिवाद गरेको टिप्पणी गरेका छन् ।

‘कांग्रेसले गिरीबन्धुको जग्गा बेचेर कमिसन खायो भनेर केपी शर्मा ओलीले भन्नुभएको थियो । उहाँले त्यस्तो आरोप लगाएपछि हामीले तथ्य राख्नुपर्‍यो। २०५२ सालमा मनमोहन अधिकारी प्रधानमन्त्री हुनुहुन्थ्यो, भूमिसुधार मन्त्री हुनुहुन्थ्यो राधाकृष्ण मैनाली । कांग्रेस त सरकारमा थिएन,’ उनले भने, ‘२०६० सालमा सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेला पनि गिरीबन्धुबारे केही निर्णय भयो कांग्रेस सरकारमा थिएन । २०७८ सालमा केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, गिरीबन्धुबारे बाँकी निर्णय त्यसबेला भएको थियो । कांग्रेस सरकारमै नभएका बेलाका कुरा कांग्रेसलाई आरोप लगाएपछि हामीले तथ्य राखेका हौं ।’

एमालेले अध्यक्ष ओलीमाथि कांग्रेसले आधारहीन आरोप लगाएको भन्दै माफी माग्नुपर्ने बताए पछि कांग्रेसले यस्तो टिप्पणी गरेको हो ।

एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेस नेताहरूले अध्यक्ष ओलीमाथि प्रतिशोधपूर्ण तरिकाले दिएको अभिव्यक्ति लिखित रूपमा माफीसहित फिर्ता लिनुपर्ने अन्यथा सम्बन्ध राम्रो नहुने चेतावनी दिएका थिए ।

ओलीले गलत रूपमा कांग्रेसमाथि आरोप लगाएपछि जबाफ दिइएको महामन्त्री शर्मा बताउँछन् । ‘अचम्म लाग्छ, लिखित क्षमायाचना गर्नुपर्छ भन्नुभयो रे, तर म पत्याउदै पत्याउदिनँ,’ एमाले उपाध्यक्ष विष्णु पौडेललाई लक्षित गर्दै शर्माले भने, ‘यदि उहाँले भन्नुभएको रहेछ भने संविधान सँगै बसेर लेखेका हौं । उहाँले गलत आरोप लगाउन छुट छ भने सही प्रतिवाद गर्ने छुट पनि कांग्रेसलाई छ। किनभने यो उत्तर कोरिया होइन यो नेपाल हो ।’

महामन्त्री शर्माले ओलीजीले कांग्रेसमाथि आरोप लगाएपछि आफुहरुले त्यसको प्रतिवाद गरेको स्पष्ट गरे । उनले कांग्रेसलाई आरोपित गरेपछि आफुहरु मौन धारण नगर्ने बताए ।