ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट

ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड बजेट



काठमाडौँ । सरकारले ऊर्जा क्षेत्रको विकासका लागि आगामी आर्थिक वर्षमा ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षमा ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै योजना ल्याएका छन् ।

अर्थमन्त्री पुनले जलाशययुक्त आयोजनाको निर्माण अघि बढाउने, विद्युत्को पहुँच बढाउने र विद्युत् खपत बढाउने लगायतका लक्ष्य लिएका छन् । यो लक्ष्यलाई पुरा गर्नका लागि ५० अर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरेको उनले बताए ।

उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको आज १६ वर्ष पुगेको स्मरण गर्दै उनले विद्युत उत्पादन बढेको बताए ।

लोकतान्त्रिक गणतन्त्रपछि विद्युत उत्पादन सात सय मेगावाटबाट बढेर तीन हजार ६० मेगावाट पुगेको उनले बताए ।

संघीय संसदको संयुक्त बैठकमा बोल्दै अर्थमन्त्री पुनले कुल गार्हस्थ उत्पादन लगायत सामाजिक तथा आर्थिक विकासमा देशले फड्को मारेको बताए ।