प्रतिनिधिसभामा बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस

प्रतिनिधिसभामा बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको राजस्व र व्ययको वार्षिक अनुमानित प्रति (बजेट) टेबुल गरेका छन् ।

उक्त बजेटमाथि सामान्य (सैद्धान्तिक) छलफलका लागि सभामुख देवराज घिमिरेले यही जेठ २०, २१ र २२ गतेका दिन तोकेका छन् । अर्थमन्त्री पुनले छलफलमा उठेका प्रश्नको जवाफ जेठ २३ गते दिने कार्यक्रम तय गरिएको छ । उक्त छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सदस्यहरुले भाग लिनेछन् ।

मन्त्री पुनले ‘आर्थिक विधेयक, २०८१’ बैठकमा पेस गरे । यसअघि सङ्घीय संसद्को आजको संयुक्त बैठकमा मन्त्री पुनले बजेट पेस गरेका थिए ।

यसैगरी आजको प्रतिनिधिसभाको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सो अध्यादेश स्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री भण्डारीले सरकारले हालै गरेको लगानी सम्मेलनलाई लक्षित गरी निजी क्षेत्र तथा सरकोरवालाको परामर्शमा अध्यादेश ल्याएको अवगत गराए । उक्त अध्यादेश पेस नगर्न नेपाल मजदुर किसान पार्टीका प्रेमबहादुर सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचना बहुमतबाट अस्वीकृत भएको थियो ।

बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामति सेवा विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी राख्नुभएको प्रस्ताव पारित भएको छ ।

यसैगरी उद्योगमन्त्री भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव बैठकले पारित गरेको छ ।

बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गरे । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । यस्तै उहाँले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सात सदस्यहरु मनोनयन गरेका थिए ।

प्रतिनिधिसभाको अर्काे बैठक यही जेठ २० गते आइतबार बिहान ११ बजे बस्नेछ ।