कसैको दबाबमा करको दर हेरफेर गरिएको होइन : अर्थमन्त्री पुन

कसैको दबाबमा करको दर हेरफेर गरिएको होइन : अर्थमन्त्री पुन



काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कसैको दबाबमा करका दर हेरफेर नगरेको बताएका छन् । बुधबार आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले तथ्य केलाएर करका दर हेरफेर गरिएको बताएका हुन् ।

‘करका दर हेरफेर गर्दा हामीले तथ्य केलाएर गरेका छौँ । कसैको दबाबमा दर हेरफेर गरेका छैनौँ,’ उनले भने । आगामी आर्थिक वर्षको बजेट सन्तुलित आएकोसमेत उनको दाबी छ ।

‘बजेट सन्तुलित आएको छ । शिथिल अर्थतन्त्रलाई सुधार गर्ने गरी बजेट ल्याएका छौँ,’ उनले भने, ‘व्यवसायी, उद्यमीहरूमा आशा जगाउने प्रयत्न गरेका छौँ ।’ अर्थतन्त्रमा देखिएका समस्या सुधार गर्नुपर्ने बताउँदै उनले ‘युवाहरूमा देखिएका समग्र अर्थतन्त्र सुधारमा जोड दिनुपर्ने बताए ।

‘सधैँ अरुलाई दोष दिएर मात्र हुँदैन । अब नयाँ चरणको अर्थतन्त्र सुरु गर्नुपर्छ । त्यसका लागि हामी उच्चस्तरीय आयोग गठन गर्ने तयारीमा छौँ,’ उनले भने ।

अर्थमन्त्री पुनले वर्तमान आर्थिक शिथिलताको अवस्थामा आशा जगाउने खालको बजेट आएको बताएका छन् । ‘बजेट सार्वजनिक हुनु अगाडि विभिन्न कारण दबाबमा थियौं, आज रिल्याक्स मुडमा छौं । प्रतिक्रिया पनि सन्तुलित नै आएको छ, जसले गर्दा हामी खुसी छौं,’ अर्थमन्त्री पुनले भने, ‘सरोकारवालासँग संवाद गरेर सकेसम्म सकारात्मक दृष्टिले काम गर्छौं भनेका थियौं । हतपतमा केही मान्छेको कुरा सुनेर करका दर परिवर्तन गरिएको छैन । केही इरर हुन सक्छ । सरकारका तर्फबाट सक्नेजति राम्रो गर्ने प्रयास गरेका छौं ।’

चालु आवको प्रक्षेपण नमिलेको अवस्थामा वस्तुपरक बनाउने प्रयास यसपटक भएको उनले बताए । बजेटले आम जनतामा आशा जगाउने प्रयास गरिएको भन्दै उनले युवामा देशभित्र अवसर खोज्ने प्रयास गरिएको उनको भनाइ छ ।

‘देशभित्रै अवसरको खोजी गर्ने, युवाको निराशा हटाउने प्रयास गरेका छौं । अर्थतन्त्रको संरचनामा सुधार ल्याउने कोसिस गरेका छौं,’ उनले भने, ‘हाम्रो कोसिस नयाँ चरणको सुधारको प्रयास हो । हाम्रो भौगोलिक स्थिति सुहाउँदो अर्थतन्त्र बनाउने प्रयत्न यसपटक गरिएको छ ।’

अर्थमन्त्री पुनले निजी क्षेत्र साथमा लिएर मनोबल बढाउने कोसिस गरिएको बताए । ‘हाम्रा सीमाले साथ दिएसम्म निजी क्षेत्रमैत्री बनाउने कोसिस गरेका छौं । अब ठूला पूर्वाधार सरकार एक्लैले बनाउन सक्दैन, अब यसमा निजि क्षेत्रको उपस्थिति हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले बजेट निर्माणका क्रममा मन्त्री, सचिव र अन्य कर्मचारीको दैनिकी, दबाब र अनुभव सेयर गरे ।

मन्त्री पुनले भने,‘बजेट निर्माणको क्रममा धेरै हतारोजस्तो, दबाबजस्तो र राजनीतिक रूपले पनि संसद्‌मा बजेट पेश हुन्छ कि हुन्न भन्ने अवस्थामा हामी थियौँ र अहिले यहाँसम्म आउँदा आज रिल्याक्स मुडमै छौ । खासगरी म अस्ति राति बिहान साढे तीन बजेसम्म मन्त्रालयमा बसेँ’, मन्त्री पुनले अनुभव सुनाउँदै भने, ‘र बिहानीपख मात्र गएर केही समय सुतेर बजेट प्रस्तुत गर्नुपर्ने अवस्था बन्यो ।’

उनले आफू मात्र होइन सचिव र अन्य कर्मचारीहरू पनि त्यसैगरी खट्नुपरेको बताए । ‘किनभने राजनीतिक रूपले पनि दबाब भइरहेको थियो । यहाँहरूलाई मन्त्री र सचिवको दैनिकी थाहा पाउने जिज्ञासा होला’, मन्त्री पुनले भने, ‘अर्थ सचिव मेट्रेस लिएर आउनुभएको रहेछ, उहाँ यहीँ सुत्नुभयो । राजश्वसचिव चाहीँ चार बजेपछि घर जानुभयो ।’