एमालेको राष्ट्रिय महिला भेला सुरू

एमालेको राष्ट्रिय महिला भेला सुरू



काठमाडौं । नेकपा एमालेको ‘राष्ट्रिय महिला भेला’ आजदेखि काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा सुरू भएको छ । भेला दुई दिनसम्म चल्ने जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जानकारी दिए ।

बिहीबारसम्म चल्ने भेलाको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् ।

प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने उक्त भेलामा पार्टीका २३ वटै जनसङ्गठनका महिला नेता तथा पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिले सहभागीता जनाउने छन् । भेलामा करिब पाँच हजार जनाको सहभागिता रहने छ ।

यस्तै, प्रदेश तथा जिल्ला कमिटीका महिला पदाधिकारी, अनेरास्ववियुमा निर्वाचित महिला प्रतिनिधिलगायत पनि भेलामा सहभागी हुने बताइएको छ ।

भेलाको व्यवस्थापनका लागि अखिल नेपाल महिला संघकी अध्यक्ष टुकाभद्र हमालको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । यसैगरी, १५० महिला स्वयंसेवक परिचालन कमिटी निर्माण गरिएको छ ।

विसं २०६३ जेठ १६ गते आमाका नामबाट नागरिकता, राज्यका सबै तहमा एकतिहाई महिला सहभागिताको सुनिश्चितता, विभेद्कारी कानुनको खारेजी र महिला हिंसाको अन्त्य गर्ने विषयलाई व्यवस्थापिका संसद्को सङ्कल्प प्रस्तावका रूपमा पास गरेको दिनको स्मरणमा भेलाको आयोजना गरिएको हो । भेलाको संयोजन एमालेको जनसङ्गठन संयन्त्रले गरेको छ ।

महिला सशक्तीकरणका दृष्टिले भेला महत्त्वपूर्ण हुने तथा भेलाले समाजको अग्रगतिका लागि प्रेरणा दिने विश्वास लिइएकाे छ । यसबाट पार्टीले अगाडि सारेको मिसन–२०८४ सफल बनाउन महिलाको भूमिका प्रभावकारी बनाउन सहयोग पुग्ने बताइएकाे छ ।