देश गन्जागोल अवस्थामा भएकाेले निकास दिन बूढानीलकण्ठमा संवाद भयाे : एकीकृत समाजवादी

देश गन्जागोल अवस्थामा भएकाेले निकास दिन बूढानीलकण्ठमा संवाद भयाे : एकीकृत समाजवादी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएकाे बैठकमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि सहभागी भएका छन् ।

सभापति देउवाकाे आफ्नै निवास बूढानीलकण्ठमा भएकाे छलफलमा माधव नेपालका साथै एकीकृत समाजवादीका नेता मेटमणि चौधरी, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारी सहभागी थिए ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा रहे पनि कुनै छलफलमा सहभागी हुन नपाएको र आफूहरु अपमानित भएर बसिरहेको भन्दै विपक्षी गठबन्धनमा दुखेसाे पोखेका छन् ।

बैठकमा मधेस सरकार सत्ता पक्षको हातमा जान नदिने छलफलमा नेकपा एसका अध्यक्ष नेपालले आफू यो विषयमा सकारात्मक भएको र पार्टीमा छलफल गरेर निर्णय दिने बताएका छन् ।

एकीकृत समाजवादीका प्रमुख सचेतक समेत रहेका चौधरीले देश गन्जागोल अवस्थामा पुगेकाले संवाद गर्न कांग्रेस सभापति देउवाकोमा पुगेको बताए ।

छलफलपछि मधेस प्रदेश सरकारलगायत विषयमा सामान्य छलफल भएको बताउँदै उनले भने “खासमा उहाँको स्वास्थ्य अवस्था बुझ्न गएका हौँ । मधेस प्रदेश सरकार मात्र होइन देशनै गन्जागोल भएको बेला कसरी निकास दिने भनेर सामान्य छलफल भयो ।”

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले छलफलबाट बाहिरिने क्रममा मधेस सरकार जोगाउन प्रतिपक्षमा रहेका दलहरू एक ठाउँमा उभिने बताए । उनले राष्ट्रिय राजनीतिमा पनि अब एकीकृत समाजवादीसहित प्रतिपक्ष दलहरू एकजुट भएर अघि बढ्ने बताए ।

“अहिले भइरहेको समसामयिक राजनीतिक परिप्रेक्षमा प्रतिपक्ष राजनीतिक दलहरू एक हुने सहमति नै छ । भेटमा मधेस सरकारको विषय पनि उठ्यो । त्यहाँ पनि हामी एक ठाउँमा हुन्छौँ,” उनले भने ।