रिहा भए कैलाश सिरोहिया

रिहा भए कैलाश सिरोहिया



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई बुधबार साँझ हिरासतबाट हाजिर जमानीमा छाडिएको हो ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर उनलाई हिरासतमा राखिएको थियो ।

८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । हाल उनको नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उपचार भइरहेको छ ।

उनका छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने शर्तमा उनी छुटेका हुन् ।

उनलाई फौजदारी कार्यविधि संहिताको दफा १५ को उपदफा १ बमोजिम हाजिर जमानीमा छोडिएको हो ।

सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्दै वैशाख १७ गते जाहेरी परेको थियो। जाहेरी परेको झण्डै २० दिनपछि प्रहरीले धनुषाबाट पक्राउ अनुमति लिएको थियो। पक्राउ गर्न जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पुर्जी जारी गरेका थिए ।