सांसद पौडेलले दर्ता गराए प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

सांसद पौडेलले दर्ता गराए प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव



काठमाडौँ । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सार्वजनिक जग्गाको खोजी माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्‌मा दर्ता गरेका छन् । सांसद पौडेलले अतिक्रमण भएका ‘सार्वजनिक जग्गाको एकीकृत व्यवस्थापन गर्न र विकास निर्माण गर्दा सरकारका विभिन्न निकाय बिचमा अनिवार्य सहकार्य’ गर्नु पर्नेसहित दुईवटा प्रस्ताव दर्ता गराएका हुन् ।

दुई वटै प्रस्तावमा प्रतिनिधिसभा सदस्यहरू प्रतिमा गौतम र सपना राजभण्डारीको समर्थन रहेको छ ।

सांसद पौडेलले शक्ति र पहुँचको दुरुपयोग गर्दै सार्वजनिक जग्गाको अतिक्रमण हुने गरेको दाबी गरेका छ । विगतमा अतिक्रमित सार्वजनिक जग्गालाई नेपाल सरकारको मातहतमा ल्याउन सार्वजनिक महत्वको प्रस्ताव ल्याउनुपरेको उनले उल्लेख गरेका छन् ।

उनले विश्वविद्यालय, मठ मन्दिर तथा अन्य विभिन्न क्षेत्रका बहुमूल्य जग्गा राजनीतिक पँहुच र आग्रह–पूर्वाग्रहका आधारमा, स्वार्थ समूहहरूसँग मिलेमतो गरी विभिन्न व्यक्ति, सङ्घ–संस्था तथा निजी कम्पनीलाई सस्तोमा तथा कतिपय निःशुल्क भाडामा वा लिजमा दिइएको भन्दै शक्ति र पहुँचको दुरुपयोग गर्दै हुने सार्वजनिक जग्गाको अतिक्रमण रोक्न र विगतमा अतिक्रमित भएका सार्वजनिक जग्गालाई नेपाल सरकार मातहतमा ल्याउन प्रस्ताव गरेका छन् ।

विशेषगरी काठमाडौँ उपत्यका लगायत मुख्य सहरी क्षेत्र तथा घना बस्ती बिचमा रहेका सार्वजनिक जग्गा विभिन्न बहानामा व्यक्तिले अपचलन गरिरहेको हुँदा त्यस्ता जमिन तत्काल मुक्त गराई पार्क, खेल मैदान वा अन्य सामुदायिक उपयोगमा ल्याउन व्यवस्थित कार्य योजना आवश्यक रहेकोले उक्त प्रस्ताव दर्ता गरिएको सांसद पौडेलले बताएका छन् ।