गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता

गृहमन्त्री लामिछानेविरुद्ध सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा नेपाल ल क्याम्पसका विद्यार्थीले शुक्रबार अर्को मुद्दा दर्ता गराएका छन् ।

ट्राफिक नियम उल्लंघ गर्नेहरूलाई २ घण्टा भोलियन्टर बनाउने गृहमन्त्रीको निर्णय मानवअधिकारविरुद्ध रहेको भन्दै गृहमन्त्री लामिछाने तथा गृह मन्त्रालयलाई विपक्षी बनाई ल का विद्यार्थी कृष्ण विक, रविन्द्र पौडेल, आकाश कुमार भट्ट, प्रमेश पौडेल, उज्ज्वल माली र इमामुल हकले रिट दायर गरेका हुन् । उनीहरूले गृहमन्त्रीको मौखिक आदेशका भरमा लागू गरिएको सो नियम खारेज गर्न माग गरेका छन्।

उनीहरूले कानुनभन्दा माथि व्यक्ति नहुने र ट्राफिक नियम उल्लंघन गरेकालाई भोलियन्टर खटाउने कानुन नभएको जिकिर गरेका छन् ।

गृहमन्त्री लामिछानेले १५ जेठमा गणतन्त्र दिवसका अवसरमा विशेष घाेषणा भन्दै सामाजिक सञ्जालमार्फत ट्राफिक कारबाहीमा परेकाहरूले भोलियन्टर बनाउने घाेषणा गरेका थिए । उनकाे याे घाेषणापछि काठमाडाैं उपत्यकामा ट्राफिक कारबाहीमा परेकाहरूलाई भाेलिन्टयर बनाइएकाे थियाे ।

सर्वोच्च अदालतमा दायर सो रिटमाथि २० जेठका लागि पेसीसमेत तोकिएको छ ।

यसअघि गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध अधिवक्ता अनुपम भट्टराईले रिट दायर गरेका थिए । सो रिट सर्वोच्चमा विचाराधीन छ ।