प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा छलफल

प्रचण्ड, ओली र नेपालबीच सिंहदरबारमा छलफल



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको बताइएकाे छ ।

भेटमा आइतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा नेपाल सहभागी भएको विषयमा पनि छलफल भएको बताइएको छ ।

नेपालको सो भेटपछि सत्ता गठबन्धन तरंगित बनेको थियो । सो भेट बारे छलफल गरेर गठबन्धनमा विश्वासको बातावरण बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीले माधव नेपालसँग छलफल गरेका हुन् ।

बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमाले अध्यक्ष ओलीले समसामयिक विषयवस्तुमा छलफल भएको प्रतिक्रिया दिएका थिए ।

बुधबार साँझ देउवा निवासमा हाल अल्पमतमा रहेको जसपा नेपालको मधेश प्रदेश सरकारलाई बचाउने विषयमा छलफल भएको थियो । कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी एक ठाउमा आएमा मधेश सरकार बहुमतमा हुने हुनाले देउवाले सो पहल गरेका थिए । साथै देउवाले नेपाललाई अहिलेको गठबन्धन छोडेर मधेशबाटै वैकल्पिक गठबन्धन बनाउन आग्रह गरेका थिए ।

यस अघि शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले भने माओवादी केन्द्रको संसदीय दलको बैठकमा माधव नेपालले आफूसँग सोधेर देउवासँग भेटेको दाबी गरेका थिए । साथै उनले सत्ता गठबन्धनमा कुनै समस्या नभएको समेत दाबी गरेका थिए ।