काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सत्तारूढ दलहरूसँग परामर्श नगरी बजेट ल्याइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
संघीय संसद् भवनको ल्होत्से हलमा शनिबार पार्टी संसदीय दलको बैठकमा उनले अर्थमन्त्री वर्षमान पुनले नेकपा (माओवादी केन्द्र) प्रति ढल्किएको बजेट ल्याएको टिप्पणी गरे । बजेट समाजवादउन्मुख हुनुपर्नेमा अन्योलग्रस्त देखिएको उनले टिप्पणी गरे । बजेट निर्माणमा प्रक्रियामा नै सरकारले कमीकमजोरी गरेको उनको भनाइ छ ।
ओलीले बजेटमा केही कमजोरी भेटिएमा त्यसको आलोचना गर्न सांसदहरूलाई निर्देशनसमेत दिएका छन् । उनले भने, ‘बजेटमाथि आलोचना नै गर्न नहुने भन्ने होइन । बजेटमा रहेको कमीबारे माननीयज्यूहरूले आफ्नो क्षेत्रमा, जिल्लामा, प्रदेशमा हिजोको अवस्थामा र आजको अवस्थामा के कमी कमजोरी छ, के बढ्नुपर्थ्यो वा के घट्यो त्यस्ता विषयहरूमा स्वभाविक रूपमा प्रश्नहरू उठाउन सक्नुहुन्छ ।’
अध्यक्ष ओलीले बजेटमा कमी औँल्याए पनि त्यसलाई समर्थन र पारित गरेर जाने एमालेको नीति रहेको स्पष्ट पारे ।
ओलीले भने, ‘आफ्नो क्षेत्रमा भइरहेको आयोजनामा बजेट कटौती भएको छ भने बजेटको सम्पूर्ण आकार नघटेको अवस्थामा आयोजनाका लागि छुट्टाइएको रकम घट्यो भने त्यसको औचित्य के हो त ? कुनै आयोजनाका लागि हामी विशेष नै काम गर्दैछौँ कि ? नयाँ आयोजना, ठूलो आयोजना जसले एउटा रूपान्तरकारी काम गर्छ त्यस्तो आयोजना, त्यसमा ठुलो किसिमको बजेट छुट्टाउनुपर्यो भन्ने कुराहरू छन् कि ? यस्ता कुराहरू पनि हेर्नुपर्छ । यदि त्यस्तो छैन भने एउटालाई अनुकूल र अर्कोलाई प्रतिकूल हुनेगरी भएको छ भने पनि बोल्नुपर्छ । पछि साथीहरूले यस सम्बन्धमा छलफल गर्नु नै हुनेछ । एउटाचाहिँ हामीमा कुनै दुविधा हुनु हुँदैन, यस बजेटलाई हामी समर्थन गर्छौँ । र पारित गर्छौँ ।’


प्रतिक्रिया