उपचार छोडेर ध्यानमा लागेका गढीमाईका वडाध्यक्ष यादवको निधन

उपचार छोडेर ध्यानमा लागेका गढीमाईका वडाध्यक्ष यादवको निधन



रौतहट । उपचार छोडेर पूजापाठ र ध्यानमा लागेका रौतहटको पूर्वीभेग गढीमाई नगरपालिका-८ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवको निधन भएको छ ।

५५ वर्षीय अध्यक्ष यादवको उपचारको क्रममा शनिवार राति क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको गढीमाईका मेयर श्यामबाबु यादवले बताएका छन् । मलद्वारमा क्यान्सर रोगले ग्रस्त उनी उपचारको लागि पछिल्लो एक वर्षदेखि भरतपुर अस्पतालमा भर्ना रहेका थिए ।

लामो समयदेखि भगन्दर रोगबाट ग्रसित यादवलाई दुई वर्षअघि क्यान्सर रोग लागेको भरतपुर क्यान्सर अस्पतालले पुष्टि गरेको थियो । त्यसको एक वर्ष लगातार क्यान्सर रोगको उपचार गराएका वडाध्यक्ष यादव धनाधन सतगुरुको गरुडास्थित आश्रममा लागेका थिए ।

आश्रमका गुरुको सल्लाह अनुसार उनले क्यान्सर रोगको उपचार छोडेर एक वर्षबढी समयदेखि पूजापाठ र ध्यानमा लागेपछि उनको अवस्था नाजुक भएको थियो । त्यसपछि उनलाई पुनः उपचारको लागि क्यान्सर अस्पताल भरतपुरमा भर्ना गरिएको मेयर यादवले जानकारी दिएका छन् ।

मृतकको शव आजै ल्याएर गढीमाई नगरपालिकास्थित बागमती नदी किनारमा अन्तेष्टि गरिने योजना रहेको गढीमाई नगरपालिकाले जनाएको छ ।

क्यान्सर रोग लागेका जनप्रतिनिधिजस्ता जिम्मेवार मानिस पूजापाठ र ध्यान जस्ता अन्धविश्वासमा लागेर ज्यान गुमाउनु ठूलो बिडम्बना रहेको छ ।