सरकारले बजेटमा राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दियाे : पूर्वअर्थमन्त्री महत

सरकारले बजेटमा राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दियाे : पूर्वअर्थमन्त्री महत



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले राष्ट्रिय प्राथमिकतालाई तिलाञ्जली दिएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले आवश्यकको आधारमा बजेट विनियोजन नगरेर सरकारले आफू खुशी अघि बढ्ने बाटो लिएको समेत बताए ।

विगतमा कांग्रेस माओवादी गठबन्धन हुँदा प्रधानमन्त्रीले वितरण गर्न पाइएन भन्ने गुनासो गरेको भन्दै उनले अहिले कार्यकर्तालाई सोझै रकम बाँड्ने गरी कार्यक्रमहरु बजेटमा राखिएको टिप्पणी गरे ।

प्रवक्ता महतले देशभर पानीको अभाव भइरहेका बेला सरकारले खानेपानीको क्षेत्रमा बजेट कटौती गर्ने काम गरेको भन्दै आपत्ति जनाए ।

अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बजेट थुपारेर सरकारले गलत बाटो लिएको उनको दाबी छ । प्रवक्ता महतले सत्तारुढ गठबन्धनमुखी बजेट ल्याउने काम गरिएको आरोप पनि लगाए ।

‘यो बजेटले धेरै कुरा नबोली आफ्नो हिसाबले खर्च गर्ने बाटो पक्डियो । यो बेठीक भइरहेको छ, सरकारले राज्यलाई अनुशासनमा हिँडाउने बाटो छोडिसकेको छ’ उनले भने ।

अर्थमन्त्रीले देशका विभिन्न क्षेत्रलाई उत्पादन करिडोर घोषणा गरेको र पोखरा, चितवन र बुटवललाई आर्थिक त्रिभुज घोषणा गरेको तर उद्योग मन्त्रालयको बजेट नै घटेको उनले बताए । ‘उद्योग वाणिज्य मन्त्रालयको बजेट नै घटेको छ, हाइ साउन्डिङ शब्द र फ्रेज राखेर मात्र केही हुँदैन’ उनले भने ।

प्रधानमन्त्री रोजगार कार्यक्रमले कुनै प्रतिफल नदिएकाले त्यसलाई बन्द गर्नुपर्नेमा यस वर्ष पनि निरन्तरता दिएको उनले बताए । आफू अर्थमन्त्री हुँदा उत्पादनका आधारमा अनुदान दिने नीति लिएको तर अहिले पुनः वितरण गर्न खोजिएको महतले बताए ।

डा. महतले स्याउ, प्याज र आलु विदेशबाट आयात गर्दा भन्सार बिन्दुमा मूल्य अभिवृद्धि कर लगाउने आफूले गरेको व्यवस्था अहिलेको अर्थमन्त्रीले परिवर्तन गरेकामा पनि असन्तुष्टि जनाए ।