बाग्लुङको बुर्तिबाङ बजारलाई नयाँ शहर बनाउने योजना अलपत्र

बाग्लुङको बुर्तिबाङ बजारलाई नयाँ शहर बनाउने योजना अलपत्र



बाग्लुङ । बाग्लुङको बुर्तिबाङ बजारलाई नमूना बनाउने गरी काम शुरु भएको नौ वर्ष भइसके पनि लक्ष्य पूरा हुन सकेकाे छैन ।

२०७२ सालमा देशभर १० वटा नमूना शहर बनाउने सरकारको योजनाअनुसार बुर्तिवाङमा पनि बजेट विनियोजन गरेर काम शुरु भएको थियो । बुर्तिबाङ बजारमा नयाँ शहर आयोजना कार्यालय स्थापना गरी काम हुँदै आए पनि काम अपेक्षाअनुसार हुन नसकेको स्थानीय बताउँछन् ।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै पर्ने बुर्तिबाङ बजार बाग्लुङकाे दोस्रो ठूलो व्यापारिक केन्द्र हो । साँघुरो बजारमा साँघुरै सडक हुँदा पनि नयाँ शहर आयोजनाले सडकलाई व्यवस्थित बनाउन सकेको छैन । नयाँ शहरका रूपमा निदृष्ट क्षेत्रमा कालोपत्र सडक, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासी, आवश्यकताअनुसार उद्यान, खेल मैदान, मनोरञ्जन स्थल, हाट बजारलगायत पूर्वाधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको नयाँ शहर आयोजना कार्यालयका लेखा प्रमुख विष्णुप्रसाद पौडेलले बताए ।

सङ्घीय सरकारले नयाँ शहर आयोजनाका लागि बुर्तिबाङमा मात्रै अहिलेसम्म ६७ करोड ३७ लाख ५४ हजार रुपैयाँ लगानी गरेको छ । आवश्यकताअनुसारको बजेट नआउँदा अपेक्षाअनुसार काम गर्न नसकिएको आयोजना कार्यालयका लेखा प्रमुख पौडेलले बताए ।