पीएनजीलाई पराजित गर्दै आयोजक वेस्ट इन्डिजको विजयी शुरुवात

पीएनजीलाई पराजित गर्दै आयोजक वेस्ट इन्डिजको विजयी शुरुवात



काठमाडौँ । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा सह–आयोजक वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ । जितका लागि १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औँ ओभरमा ५ विकेटको क्षतिमा पुरा गरेको थियो ।

रोस्टन चेसले नटआउट रहँदै २७ बलमा ४२ रन तथा आन्द्रे रसलले नटआउट रहेर ९ बलमा १५ रन बनाउँदै वेस्ट इन्डिजलाई जित दिलाए ।

टोलीका लागि ब्रान्डन किंगले ३४ रन तथा निकोलस पुरनले २७ रन जोडे । कप्तान रोभमन पावेलले १५ रनको योगदान दिए ।

बलिङमा राम्रो चुनौती प्रस्तुत गरेको पीएनजीका लागि कप्तान असद भालाले २ विकेट लिए भने अलेई नाओ र चाद सोपर र जोन कारिकोले एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । टोलीका लागि सेसे बाउले अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा ५० रन जोडे ।

त्यस्तै, किपलिन डोरिगाले २७ रन बनाए भने कप्तान असद भालाले २१ रनको योगदान दिए । चाल्र्स अमिनीले १२ रन बनाए भने चाड सोपरले १० रन जोडे ।

वेस्ट इन्डिजका लागि आन्द्रे रसल र अल्जारी जोसेफले २–२ विकेट लिए । अकिल होसेन, रोमारियो सेफर्ड र गुडाकेस मोतीले १–१ विकेट हात पारे ।