टी-२० विश्वकप : सुपर ओभरमा नामिबियासँग ओमान पराजित

टी-२० विश्वकप : सुपर ओभरमा नामिबियासँग ओमान पराजित



काठमाडौं । आइसीसी टी-२० विश्वकपको चौथो तथा समूह बीको पहिलो खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा पराजित गरेको छ ।

बार्बाडोसको केन्सिङ्टन मैदानमा भएको खेलमा ओमानले दिएको ११० रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएपछि खेल सुपरओभरमा पुगेको हो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएको थियो । डेभिड विसाले १३ र जेर्हार्ड इरास्मसले ८ रन जाडे ।

उक्त लक्ष्य पछ्याएको ओमानले जम्मा १० रनमात्रै जोडेपछि नामिबिया विजयी भयो ।

यसअघि खेल निर्धारित ओभरमा रोमाञ्चक बराबरीमा टुंगिएको थियो ।

नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए । निकोलास डाभिनले ३१ बलमा २४ रन जोडे ।

ओमानका लागि मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।

ओमानका लागि खालिद काइल ३९ बलमा ३४ रन बनाए भने जिसान मक्सुदले २० बलमा २२ रन जोडे । त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । डेभिड विसाले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए । बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे ।