राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेस सांसदको प्रस्ताव

राष्ट्रिय सहमतिको सरकार गठन गर्न कांग्रेस सांसदको प्रस्ताव



काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको प्रस्ताव गरेका हुन् । उनले भने, ‘यही संसद भित्रबाट हामीले राष्ट्रिय सरकार निर्माण गर्न सक्छौं । एउटा बडो डेमोक्रेटिक अलाइन्सको कल्पना गरौं ।’

राष्ट्रिय सरकार बनाएर आवश्यक ठाउँमा संविधान संशोधन गर्ने र जनतालाई सुशासनको प्रत्याभूति दिलाउन सकिने उनको भनाइ छ । यसो गरे जनतामा आशा र भारोसको संचार गराउन सकिने बताए ।

२०७४ सालमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई जनताले विश्वास गरेको छर, त्यसबेला ठीक ढंगले संविधान कार्यान्वयन गर्ने र मुलुकलाई ठीक दिशामा अगाडि बढाउन नसकेको उनले बताए ।

सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । कर्णाली नदीमा पानीको स्तर कम हँुदै गएको र मानव र जङ्गली जनावरबीचको बढ्दो द्वन्द्वले वन्यजन्तुको वासस्थान लोपोन्मुख भएको बताए ।