भारतमा चन्द्रबाबु नायडु बने किंगमेकर, भाजपाबाट ६ मन्त्री पद माग्ने

भारतमा चन्द्रबाबु नायडु बने किंगमेकर, भाजपाबाट ६ मन्त्री पद माग्ने



दिल्ली । भारतकाे लोकसभा चुनाव २०२४ काे नतिजा अनुसार आन्ध्र प्रदेशमा २५ लोकसभा सीटहरू मध्ये १६ जितेर तेलगु देशम पार्टी (TDP) एनडीए(NDA) गठबन्धनमा दोस्रो ठूलो पार्टी बनेको छ ।

भाजपा एकल बहुमतको आंकडाबाट टाढा रहँदा दिल्लीको सत्ताको चाबी फेरि तेलगु देशम पार्टी नेता चन्द्रबाबु नायडुको हातमा आएको छ । यस्तो अवस्थामा आन्ध्र प्रदेशमा TDP को जित धेरै हिसाबले महत्वपूर्ण मानिएको छ ।

एनडीएको आजको बैठकमा भाग लिन चन्द्रबाबु नायडू पनि दिल्ली आउँदैछन् । तर उनीहरुसँगै मागको सूची पनि आउँदैछ । स्रोतका अनुसार टीडीपीले बीजेपी सरकारलाई समर्थन गर्न ६ वटा मन्त्री पद मागिरहेको छ ।

भाजपाको नेतृत्वमा एनडीएले ह्याट्रिक जितेको छ । तर, भाजपाले बहुमत ल्याउन सकेको छैन । यस्तो अवस्थामा भाजपाले आफ्ना सहयोगीहरूमा भर पर्नु परेको हाे । जसमा भाजपा पछि तेलगु देशम पार्टीले १६ र जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।

यस निर्वाचनमा भाजपाले २४० सिटमा मात्र जित्याे । भाजपा नेतृत्वको एनडीए गठबन्धनले २९२ सिट जितेपनि भाजपा सहयोगी दल भरपर्दो नभएको भन्दै भारतमा राजनीतिक अस्थिरता हुने आशंका गरिएको छ ।

त्यस्तै यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठुलो दल बनेको छ । यसअघि २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो ।

त्यस्तै समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठुलो दल बनेको छ । अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो । त्यस्तै पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठुल दल बनेको छ । त्यस्तै डिएमके पार्टीले २२ सिट जितेको छ ।

यसरी विपक्षी गठबन्धनले २३० सिटमा जित हासिल गरेका छन् ।