काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्यूरोडको फुटपाथ ठूलो बनाउन दिनुपर्ने बताउदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।
बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले नागरिकको सुविधाका लागि न्यूरोडमा सडकपेटी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।
‘काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भन्दा हुन्छ नि !, त्यही तहमा रहेको पार्टीका प्रतिनिधिहरूलाई भने हुन्छ नि । तिनले त्यहीँ भने भइगो नि, मेयरसाब संयमले बोल्नुस् । जेल बसेका नेताहरूलाई सम्मानले बोल्नुस्, तपाईंको शैली बदल्नुस्,’ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेयर बालेन शाहलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति शर्माले भने, ‘तर आफै सुनिनुभयो बोल्न ।’
स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन् ।
छानबिनमा पूर्वाग्रहबाट मुक्त हुन आग्रह
महामन्त्री शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर अनुसन्धान गर्न सरकारलाई आग्रह गरेका छन् ।
सांसद शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको तर अनुसन्धानबाट खासै केही परिणाम नआएको टिप्पणी गरे । नेता शर्माले विसं २०४६ यताका सबै अनियमितताका घटनामा निष्पक्ष छानबिन गर्ने हो भने आफ्नो पार्टी तयार रहेकाे बताए ।
महामन्त्री शर्माले सहकारी पीडितमाथिको छानबिन समितिको गठन हुन सकारात्मक भए पनि विश्वासको मत लिने समयवाधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षीको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरूको असहमति रहेको बताए ।
उनले गिरीबन्धु टिस्टेटका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कांग्रेसले जग्गा बेचेको जस्ता आरोपयुक्त अभिव्यक्ति दिएकामा चिन्ता व्यक्त गर्दै त्यस्तो हो भने छानबिन गरेर कारबाही गर्न गृहमन्त्री समक्ष आग्रह गरे । उनले कांग्रेसलाई आलोकतान्त्रिक दल भन्ने हैसियत अन्य दलको नहुने जिकिर गरे ।
देशको सूचना विदेशीलाई बेचेको आरोप कांग्रेसका सांसदलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट लगाइएकामा आपत्ति जनाउँदै उनले भने, ‘देशको गृहमन्त्रीले गोली हान्न आदेश दिने हो, हावामा गोली हान्ने होइन ।’
सन्दीपको भिसाका लागि सरकारले पहल गर्नुपर्थ्यो
महामन्त्री शर्माले अदालतको फैसला सुसूचित गरेर सरकारले सन्दीप लामिछानेको भिसाका लागि पहल गर्नुपर्ने भए पनि त्यसो नभएको बताएका छन् ।
‘हिजो आरोप लागिरहेका बेला शिरमा मुद्दा बोकेर मैदानमा उत्रन हुन्न हामी कयौंले भन्यौं, तर अदालतले निर्दोष सावित गरिसकेपछि सन्दीप लामिछाने विश्वकप खेलिरहेको हुनुपर्थ्यो,’ शर्माले भने, ‘आफ्नो खेलाडीको बारेमा अदालतले गरेको फैसला सुसूचित गरेर उनको भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल समयमै गर्नुपर्थ्यो ।’
यसमा कमजोरी कहाँ रहेको हो भन्दै उनले खेलकुदमन्त्री, परराष्ट्र मन्त्री र समग्र सरकारको ध्यानाकर्षण गराउन चाहेको पनि बताएका छन् ।


प्रतिक्रिया