दलमा आबद्ध शिक्षकलाई कारबाहीको प्रगति विवरण उपलब्ध गराउन पुनः ताकेता

दलमा आबद्ध शिक्षकलाई कारबाहीको प्रगति विवरण उपलब्ध गराउन पुनः ताकेता


ग्लोब नेपाल
297
Shares

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गैरकानूनी काज फिर्ता र राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाहीको प्रगति विवरण सात दिनभित्र उपलब्ध गराउन पुनः ताकेता गरेको छ ।

केन्द्रले बिहीबार ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दै पुनः ताकेता गरेको हो ।

परिपत्रमा भनिएको छ-
‘अहिलेसम्म केही इकाइबाट अपूर्ण विवरण प्राप्त भएको र बाँकी इकाइबाट कुनै पनि विवरण उपलब्ध नभएको हुँदा राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीलाई प्रचलित कानून बमोजिम के कस्तो कारवाही प्रक्रिया अघि बढाइएको छ, त्यसको विवरणका साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षक छन् र ती मध्ये कति शिक्षक पदाधिकार रहेको विद्यालयमा फिर्ता भएका छन्, त्यस सम्बन्धमा पूर्ण प्रगति विवरण यो पत्र प्राप्त गरेको सात दिन भित्र यस केन्द्रमा उपलब्ध गराउनहुन अनुरोध छ ।’