टी-२० विश्वकप : सुपर ओभरमा पाकिस्तानलाई पराजित गर्दै अमेरिकाकाे ऐतिहासिक जित

टी-२० विश्वकप : सुपर ओभरमा पाकिस्तानलाई पराजित गर्दै अमेरिकाकाे ऐतिहासिक जित



काठमाडौँ । टी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा सुपर ओभरमा पाकिस्तानलाई ५ रनले पराजित गर्दै अमेरिकाले ऐतिहासिक जित हासिल गरेको छ ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो । एरोन जोन्सले ११ रन बनाउँदा मोहम्मद आमिरले ७ रन बनाएका थिए । जवाफमा पाकिस्तानले एक विकेट गुमाएर १३ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पाकिस्तानले प्रस्तुत गरेको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ५९ बनायो । दुवै टोलीको स्कोर समान भएपछि खेल सुपर ओभरमा पुगेको थियो ।

अमेरिकाका लागि कप्तान मोनांक पटेलले ३८ बलको सामना गर्दै अर्धशतकीय इनिङ्स खेले । एरोन जोन्सले नटआउट रहँदै ३६ रन, एन्ड्रियस गाउसले ३५ रन, नितिश कुमारले १४ रन बनाए ।

पाकिस्तानका लागि मोहम्मद आमिर, नसिम शाह र ह्यारिस राउफले १–१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५९ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ४३ बलमा ४४ रनको योगदान दिए ।

सदाब खानले २५ बलमा ४० रनको योगदान दिए । शाहिन शाह अफ्रिदीले १६ बलमा २३ रन जोडे ।

अमेरिकाका लागि नोस्थुस केन्जिंगेले ३ विकेट लिए भने सौरभ नेत्रभाल्करले २ विकेट हात पारे । अली खान र जस्दीप सिंहले १–१ विकेट लिए ।

प्रतियोगितामा आयोजक अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि टोलीले उद्घाटन खेलमा क्यानडालाई पराजित गरेको थियो । दोस्रो जितपछि ४ अंक बटुल्दै टोली समूहको शीर्ष स्थानमा पुगेको छ ।

जारी विश्वकपमा याे दोस्रो सुपर ओभर हो । यसअघि गत जेठ २१ गते समूह बी अन्तर्गत नामिबिया र ओमानबिचको खेल सुपर ओभरमा पुगेको थियो । उक्त खेलमा नामिबिया विजयी बनेको थियो ।